युरोको कुरो
काठमाडौँलाई युरो ज्वरोले छपक्कै ढाकिसके पनि म भने पढाइमा व्यस्त भएकोले (कति न फर्स्ट डिभिजन ल्याउने जस्तो, पढाइ एकातिर प्रश्न अर्कोतिर छ) त्यसबाट अछुतै थिएँ। यसपालि पहिलो पटक होला मैले युरो कपको एउटै खेल नहेरेको। आज अघि रातिदेखि नै घरबाहिर होहल्ला थियो। सुरुमा त सोचेँ, कुनै पार्टी सार्टी होला। पछि युरो कपको कुनै खेल हेर्न बसेका जस्तो लाग्यो।
गुगल च्याटमा भेटिएका अमेरिका भासिएका साथी ईश्वरलाई घरबाहिरको हल्लाको प्रसंग निकाल्दै थिएँ। उसले सोध्यो, फाइनल त हेर्छौ होला नि। मैले सेमिफाइनलमा को को पुगे भनेर सोधेँ। बिहान कान्तिपुरमा सेमिफाइनल कै समाचार पढेको जस्तो लागेको थियो। उसले भन्यो, हैन आज त फाइनल हो। जर्मनी र स्पेनको हुँदैछ।
अहो, मैले कति बेवास्ता गरेको रहेछु। पहिले विश्वकप हुँदा माइसंसारमा नै विपिन लगायतका ब्लगबाट परिचित साथीसँग कमेन्टमा गफ गर्दै गेम हेरिएको थियो।
कस्तो रहेछ यो हल्ला भनी हेर्न गएँ घर नजिकै। गल्लीको अलि खुला ठाउँमा ठूलो पर्दा राखेर प्रोजेक्टरबाट खेल हेरिरहेका रहेछन्। भूँइमा बसेर खेल हेरिरहेका रहेछन्। होहल्ला चर्कै थियो। ठूलो स्क्रिनमा खेल हेर्न त मज्जै हुने रहेछ। दुवै पक्षका समर्थकहरु त्यहाँ थिए। ६-७ वर्षको फुच्चे समेत इ वान इस् पेन भन्दै उफ्रँदै थियो। कति क्रेजी हगि नेपालीहरु फुटबलप्रति ! सिमसिम पानी परिरहेको थियो। तर त्यसले त झन् लुगा फुकालेर उफ्रँदै गरेका युवाहरुलाई झन् शितल पो बनाइराखेको थियो।
त्यो फुच्चेमात्र हैन, वरपरका अरुलाई पनि निद्रा लाग्ने चान्स छैन त्यहाँ। त्यत्रो हल्लाका बीच त कुम्भकर्णलाई पनि निदाउन गार्हो पर्थ्यो होला। मध्यरातमा सुरु हुने खेल भए पनि त्यसले खेल हेर्न रोकेको थिएन। प्रविधिको कारण टोलका साथीहरुले पैसा उठाएर समूहमा यसरी ठूलो पर्दामा खेल हेर्न पनि सजिलो भएको छ अहिले।
भाँच दे खुट्टा बालाकको - एक जना समर्थक करायो। खेलको जोश! अस्ति खेल हुँदै गर्दा बत्ती निभेकोले कीर्तिपुरको विद्युत प्राधिकरणको कार्यालयमा आक्रमणै गर्न गए रे केटाहरु। तर जर्मन समर्थकहरु पनि त्यहाँ कम थिएनन्। तर स्पेनले पहिलो गोल गरेपछि उनीहरु हिस्स भए। स्पेन समर्थकहरुको नारा चर्किन थाल्यो अनि। एक गोल हेर्ने बित्तिकै म त्यहाँबाट हिँडे र घर आएँ।
एमएसएन च्याट बक्समा सृजाले स्पेनले गोल गरेको खबर सुनाउँदै रहिछिन्।
says:
spain le ek goal lagayo
s says:
yo euro cup re
Umesh says:
bharkhar big screen ma herera aako ek goal
Umesh says:
yehaan ta purai halla machheko chha
s says:
ma ahile spain bata,yo spanish haru halla garera dhundhan
Umesh says:
Nepal ma ta halla chha spain ma kina nahunu ta ni
s says:
kasto football crazy hai?aja spain le jityo bhane 2,3 din ta sutna dinnan hola
अहिले बिहानको एक बजेर ३५ मिनेट गइसकेको छ। तर पनि बाहिर होहल्ला उत्तिकै छ। मलाई भने झपक्क निद्रा लाग्ला जस्तो भयो। यसपालिको युरो कप यस्तै रह्यो। अर्को पटक हेरौँला राम्रोसँग।June 29
बल्ल अलि फूर्सद हुने भो
आज चौथो परीक्षा सकिएपछि अब बल्ल अलि फूर्सद हुने भयो। अर्को परीक्षा साउन ८ मा मात्रै छ।
यो साता निकै उतारचढाव आयो जीवनमा। त्यही कारण राम्रोसित पढ्न पनि पाइएन। पढाएको र पढेको भन्दा बेग्लै प्रश्नहरु आएका थिए परीक्षामा तर त्यति मिलाएर लेख्न सकिएन जस्तो लाग्यो।
आज अलि मूड पनि ठीक छैन। मन अशान्त भइरहेकोछ।



